Section 29F
आतङ्ककारी व्यक्ति, समूह वा संगठनको रुपमा सूचीकृत गर्ने
(१) आतङ्कवादी कृयाकलापसँग सम्बन्धित भएको वा सोको शंका गर्नु पर्ने मनासिब आधार भएको भनी कुनै व्यक्ति, समूह वा संगठनको सम्पत्ति रोक्का राखिदिन कुनै मुलुकबाट नेपाल सरकारलाई अनुरोध भई आएमा परराष्ट्र मन्त्रालयले सोको जानकारी अविलम्व गृह मन्त्रालयलाई दिनु पर्नेछ ।
(२) नेपाली वा विदेशी नागरिक वा अन्य कुनै व्यक्ति, समूह वा संगठनले नेपाल वा नेपाल बाहिर कुनै मुलुकमा आतङ्कवादी कार्य वा सोमा वित्तीय लगानी गर्ने कार्यमा संलग्न भएको वा संलग्न हुन सक्ने मनासिब आधार भएमा आफैंले वा उपदफा (१) बमोजिम कुनै मुलुकबाट अनुरोध भई आएमा त्यस्तो व्यक्ति, समूह वा संगठनको सम्बन्धमा गृह मन्त्रालयले आवश्यक जाचबुझ गर्नु पर्नेछ ।
(३) कुनै व्यक्ति, समूह वा संगठन नेपाल वा नेपाल बाहिर कुनै मुलुकमा उपदफा (२) वा दफा ४ बमोजिमको कार्यमा संलग्न भएको देखिएमा वा प्रचलित कानून बमोजिम आतङ्कवादी कृयाकलाप मानिने कुनै कार्यसग सम्बन्धित व्यक्ति, समूह वा संगठन भएको देखिएमा नेपाल सरकारले त्यस्तो व्यक्ति, समूह वा संगठनलाई आतङ्कवादी कृयाकलापसँग सम्बन्धित व्यक्ति, समूह वा संगठनको सूचीमा सूचीकृत गरी त्यस्ता व्यक्ति, समूह वा संगठनको सम्पत्ति वा कोष रोक्का राख्ने आदेश जारी गर्न सक्नेछ ।
(४) उपदफा (३) बमोजिमको सूचीमा सूचीकृत व्यक्ति, समूह वा संगठनलाई सूचीकृत गरिराख्ने आधार नभएमा नेपाल सरकारले त्यस्तो व्यक्ति, समूह वा संगठनको नाम त्यस्तो सूचीबाट हटाउन सक्नेछ ।
(५) उपदफा (४) बमोजिम सूचीकृत व्यक्ति, समूह वा संगठनको नाम त्यस्तो सूचीबाट हटाइएमा सोको जानकारी गृह मन्त्रालयले अविलम्व आफ्नो वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ ।